वरिष्ठ साहित्यकार घिमिरेसहित ४२ स्रष्टा सम्मानित 

काठमाडौँ, २९ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गितु गिरीलाई प्रदान गर्नुभयो । प्यूठानमा जन्मनुभएका गिरीका सांस्कृतिकलगायत विविध विषयमा लेखिएका करीब दुई दर्जन पुस्तक प्रकाशित छन् ।

यसैगरी सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार गायक जीवन शर्मालाई प्रदान गरियो । ललितकला विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्रा गोविन्दनारायण ज्यापूलाई दिइयो । भाषा तथा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार डा ओमवरसिंह बस्न्यातलाई हस्तान्तरण गरियो । सबै विधाका राष्ट्रिय प्रतिभा पुरस्कारको राशि एक लाख र प्रमाणपत्र छ ।

यसैगरी महाकवि देवकोटा पुरस्कार पाउनुहुने साहित्यकारमा कवितातर्फ तेह्रथुमका विश्वविमोहन श्रेष्ठ, निबन्ध/समालोचनातर्फ लमजुङका डा देवीप्रसाद सुवेदी, गद्य आख्यान/नाटकतर्फ बाँकेका नयनराज पाण्डे, बाल/लोक साहित्यतर्फ सुर्खेतका डा जीवेन्द्रदेव गिरी र भाषा साहित्यतर्फ काठमाडौँका रोचक घिमिरे हुनुहुन्छ । देवकोटा पुरस्कारको राशि पनि रु एक लाख छ ।

भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार पाउनुहुनेमा दलित मुक्ति आन्दोलनको क्षेत्रबाट चितवनका रणेन्द्र बराली, समाज सुधार अभियानतर्फ धनकुटाका भद्रमान घले, सीप, कला, शिक्षा, साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रका तर्फबाट धनुषाका रमेशरञ्जन झा हुनुहुन्छ । पुरस्कारको राशि एक लाख नगद र सम्मानपत्र छ ।

आइतबार संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयद्धारा आयोजित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामुुहिक तस्वीर खिचाउँदै साहित्य, कला क्षेत्रका स्रष्टाहरु । तस्वीर: चन्द्रकला क्षेत्री

संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेमा प्रदेश नं १ बाट भोजपुरका डा भक्तबहादुर राई, प्रदेश नं २ बाट महोत्तरीकी प्रा डा शोभा पोखरेल, प्रदेश नं ३ बाट काठमाडौँका वसन्तमान महर्जन, गण्डकी प्रदेशबाट कास्कीको अलिमिया लोक वाङ्मय प्रतिष्ठान, प्रदेश नं ५ बाट गुल्मीका युवराज शर्मा गौतम, कर्णाली प्रदेशबाट हुम्लाका छक्कबहादुर लामा र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराका भोजराज भट्टराईले प्राप्त गर्नुभएको छ ।

सङ्गीत तथा नाट्य विधातर्फ प्रदेश नं १ बाट भोजपुरका चेतबहादुर राई, प्रदेश नं २ बाट रौतहटका वृजलाल सहनी, प्रदेश नं ३ बाट सिन्धुलीकी डम्बरकुमारी गुरुङ, गण्डकी प्रदेशबाट बाग्लुङका कर्णबहादुर गौतम, प्रदेश नं ५ बाट कपिलवस्तुका इन्द्रबहादुर विक, कर्णाली प्रदेशबाट जुम्लाका पद्मबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशबाट डोटीका ध्वजबहादुर महरा हुनुहुन्छ ।

यसैगरी ललितकला विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेमा प्रदेश नं १ बाट सुनसरीका स्वयंप्रकाश श्रेष्ठ, प्रदेश नं २ बाट सप्तरीका हरिओम मेहता कोइरी, प्रदेश नं ३ बाट दोलखाका उमेश श्रेष्ठ, गण्डकी प्रदेशबाट कास्कीका आलोक गुरुङ, प्रदेश नं ५ बाट नवलपरासीका नरबहादुर विश्वकर्मा, कर्णाली प्रदेशबाट मुगुकी पेमाल्हामु गुरुङ र सुदूरपश्चिम प्रदेशबाट कैलालीकी कविका चौधरी हुनुहुन्छ ।

भाषा तथा साहित्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेमा प्रदेश नं १ बाट भोजपुरका पद्मकुमार राई, प्रदेश नं २ बाट धनुषाका चन्द्रशेखर उपाध्याय, प्रदेश नं ३ बाट काठमाडौँका शम्भुकुमार रेग्मी, गण्डकी प्रदेशबाट स्याङ्जाका देवीप्रसाद वनबासी, प्रदेश नं ५ बाट दाङकी बिन्दु शर्मा, कर्णाली प्रदेशबाट दैलेखका लालबहादुर खत्री र सुदूरपश्चिम प्रदेशबाट कैलालीका भोजराज भट्ट हुनुहुन्छ । प्रादेशिक प्रतिभा पुरस्कारको राशि ५० हजार छ ।

संस्कृति र भाषा साहित्यतर्फको पुरस्कार छनोट समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सङ्गीत तथा नाट्य विधातर्फ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ र ललितकला विधातर्फ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।

सबै पुरस्कार छनोेट समिति तीन सदस्यीय थियो । संस्कृतितर्फको सदस्यमा विज्ञका तर्फबाट प्रा डा प्रेमकुमार खत्री, सङ्गीत तथा नाट्य विधातर्फ विज्ञ सदस्यमा जेबी टुहुरे, ललितकलातर्फको विज्ञ सदस्यमा नारदमणि हार्तम्छाली र भाषा साहित्यतर्फको विज्ञ सदस्यमा प्रा डा केशवप्रसाद सुवेदीलाई मन्त्रालयले मनोनयन गरेको थियो । सबै समितिको सदस्य सचिवमा मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी रहनुभएको जनाइएको छ ।

पुरस्कार छनोट गर्न मन्त्रालयका सहसचिव सुवेदीको संयोजकत्वमा भगत सर्वजीत स्मृति प्रतिष्ठानका प्रतिनिधि डा निर्मलकुमार विश्वकर्मा, विज्ञ सदस्यद्वयमा सांसद खेम नेपाली र लक्ष्मण रायमाझी सदस्य रहनुभएको थियो । सदस्यसचिवमा मन्त्रालयका उपसचिव हरिकृष्ण ज्ञवाली हुनुहुन्थ्यो ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारतर्फ नाटक पुरस्कार मकवानपुरका प्रा डा केशवप्रसाद उपाध्याय र काव्य पुरस्कार झापाका भीष्म उप्रेतीलाई प्रदान गरिएको थियो । रिमालको नाममा स्थापना गरिएको पुरस्कार छनोट गर्न प्रतिष्ठानका कुलपति उप्रेतीको संयोजकत्वमा विज्ञ सदस्य प्रा डा देवीप्रसाद सुवेदी र सदस्यसचिवमा मन्त्रालयका सहसचिव सुवेदी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.