कला साहित्य, शिक्षा, सञ्चार, प्रशासनलगायत क्षेत्रका विभिन्न व्यक्तित्व पुरस्कृत

काठमाडौँ, २५ साउन : तन्नेरी द्वैमासिक पत्रिकाले कला साहित्य, शिक्षा, सञ्चार, प्रशासनलगायत विभिन्न क्षेत्रका ३९ व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ ।

शिक्षा जगत्का नक्षत्र आरपी शर्माको शतवार्षिकीका अवसरमा आयोजित ‘बृहत् सम्मान, पुरस्कार समर्पण एवं कृति लोकार्पण कार्यक्रम’मा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सम्मान गर्नुभयो ।

‘आरपी–तन्नेरी शिक्षा पुरस्कार, २०७३’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ, ‘आरपी–तन्नेरी शिक्षा पुरस्कार, २०७४’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापा, ‘आरपी–तन्नेरी कृति पुरस्कार, २०७५’ (शिक्षा जगत्का नक्षत्र आरपी शर्मा कृतिका निम्ति) नारायणप्रसाद गौतमलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु २० हजार छ ।

त्यस्तै ‘सूर्यविक्रम ज्ञवाली–तन्नेरी समालोचना पुरस्कार, २०७३’ (माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र कृतिका निम्ति) प्रा डा ताराकान्त पाण्डेय र ‘गौतम–तन्नेरी बालसाहित्य पुरस्कार, २०७३’ (नारायणपारि बालकथा सङ्ग्रहका निम्ति) शान्ति सापकोटालाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही रु १५ हजार छ ।

जनही रु १५ हजार राशिको ‘आरपी शर्मा–तन्नेरी साहित्य पुरस्कार, २०७५’ साहित्य क्षेत्रका विशिष्ट प्रतिभाहरु सनत रेग्मी, बालकृष्ण भट्टराई, लक्ष्मी माली, दामोदर पुडासैनी किशोर, गोपाल अश्क र डिल्लीराम मिश्र ‘श्रमजीवि’लाई प्रदान गरियो । त्यस्तै रु १० हजार राशिको ‘आरपी शर्मा–तन्नेरी पुरस्कार, २०७५’ बाट यज्ञराज उपाध्याय (संस्कृति) महाप्रसाद लामिछाने र गोविन्दप्रसाद चौलागाई (सञ्चार), हरिप्रसाद दाहाल (प्रशासन), अमरकुमार प्रधान (साहित्य) तथा राजेन्द्र थापा र श्रीकृष्ण न्यौपाने (शिक्षा, प्रशासन) सम्मानित हुनुभयो ।

तन्नेरी प्रकाशनबाट प्रकाशित कृतिका कृतिकार गोपीनाथ मैनाली, इन्द्रकुमार श्रेष्ठ सरित् र साधना प्रतीक्षालाई ‘तन्नेरी कृति सम्मान २०७५’ प्रदान गरियो । ‘विशिष्ट तन्नेरी सम्मान २०७५’ महेश जाजु, योगमाया न्यौपाने, वासुदेव थापा, डा डिल्लीराज नेपाल, उदयराज गौली, टिपी शर्मा, चिरञ्जीवी खड्का, रामचन्द्र गौतम (समाजसेवा), डा नरहरिप्रसाद घिमिरे, सीता परियार, गिरिबहादुर विसुराल, उपेन्द्र मैनाली, मुक्तिप्रसाद आचार्य र कविराज पौडेल (प्रशासन), रामप्रसाद पौडेल (शिक्षा), चन्दा रौनियार र चक्रपाणि नेपाल (सञ्चार) तथा कमला रिसाल (साहित्य) लाई प्रदान गरियो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीले कला, साहित्य, समाजसेवा, प्रशासन, शिक्षा क्षेत्रका व्यक्तित्व तथा प्रतिभालाई जनस्तरबाट गरिएको सम्मान राष्ट्रिय गौरवका रुपमा रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा उहाँले नारायणप्रसाद गौतमले तयार पार्नुभएको ‘शिक्षा जगत्का नक्षत्र आरपी शर्मा’ कृतिको लोकार्पणसमेत गर्नुभएको थियो । आफ्नो जीवन शिक्षण सेवामा समर्पित गर्नुभएका शर्माले जुद्धोदय पब्लिक हाइस्कूलमा विसं १९९८ देखि २०४४ सालसम्म करीब ४६ वर्ष अध्यापन गराउनुभएको थियो ।

उक्त कृतिमा स्व शर्माका व्यक्तित्वको विभिन्न पाटाहरु जन्म तथा बाल्यजीवन, विवाह संस्कार, शिक्षादीक्षा, उच्च शिक्षाको प्रारम्भ, शिक्षण पेशामा संलग्नता, करार शिक्षक पदमा नियुक्ति र शिक्षा सेवाबाट अवकाशलगायत जीवनका विभिन्न चरण र भोगाइ समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.