घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

फूलखेती । तस्बिर: सुशीला रेग्मी

गोपालप्रसाद बराल । महोत्तरी, १८ कात्तिक: महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् ।

तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइन”, आफ्नै घरआङ्गनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका–२ की गृहिणी बृन्दा अधिकारीले भन्नुभयो , “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।” बृन्दाको आङ्गन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उहाँको भनाइ छ ।

यसरी घर वरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यवसायिक रुपमै फूल खेती गर्ने टुङ्गोमा पुगेका छन् । यो वर्ष तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अब चैं फूल खेती ब्यवसायिक रुपमै गर्ने गृहिणीको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका ब्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् ।

मखमली फूल टिप्दै बालिका । तस्वीर: लक्ष्मी गारु

“तिहारमा फुल्नेगरि जति खेती गरेपनि हुने रे’छ”, बर्दिबास–५ की गृहिणी फूलमायाँ व्लोनले भन्नुभयो, “यो आङगनको डिलमा ४०/५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले रु चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आयआर्जनका लागि नभइ शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चैं तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमाँयाको भनाइ छ ।

घर करेसा वरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी रु दुई/चार हजार आम्दानी बनाइ दिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाले बताएका छन् । तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको रु तीन हजार दिन्छु भनेका जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमायाँ श्रेष्ठले बताउनुभयो । करेसाकै फूलका बोटबाट दीपमायाँले रु तीन हजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यवसायिक रुपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन । तस्बिरः लक्ष्मी गारु

अहिले फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ । तिहारले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुले बताउनुभयो ।

जिल्लामा फूलको व्यवसायिक खेती निकै विस्तार नभएपनि अब यस्को सम्भावना बढेको कृषि बिज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरी आयोजना हुने धार्मिक अनुष्ठान एंव पूजाअर्चनालाई लक्षित गरी यसको व्यवसायिक खेती शुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउनुभयो । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियास्थित तिलोत्तमा सहकदम कृषि समूहले गरेको पुष्पखेती । तस्वीरः भरत केसी

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भएपनि विगत केही वर्षयता व्यवसायिक रुपमै फूल खेती गर्दै आएका छन् । बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन् । यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र कृषि बिज्ञले बताएका छन् ।

तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फूलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ । जिल्लाकै फूल व्यापारीहरु भन्छन्, “विवाहका लगन बाक्लिएसँगै फूलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै फूल पु¥याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।” विशेषगरी तिहारलगायतका पर्वमा फूल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती÷टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुको भनाइ छ ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.