तनहुँका ६०० कृषकलाई धानको बीउ वितरण
कृष्ण न्यौपाने । दमौली, ९ जेठ : तनहुँको भानु नगरपालिका–९ पुर्कोटस्थित जैविक विविधता संरक्षण समितिले कृषकलाई धानको बीउ वितरण गरेको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको सहयोगमा समितिले भानु नगरपालिकाका विभिन्न वडाका ६०० कृषकलाई धानको बीउ वितरण गरेको हो ।
कृषि ज्ञान केन्द्र तनहुँको पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत र भानु नगरपालिकाको कृषि शाखाको ४० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउ वितरण गरिएको समितिका अध्यक्ष विकलराज अधिकारीले जानकारी दिनुभयो । भानु नगरपालिका ७, ८, ९, १०, १२ र १३ का कृषकलाई उन्नत जातको सावित्री, मकवानपुर, राम, लोकतन्त्र धान वितरण गरिएको छ । सबै कृषकलाई गरेर १४ टन धानको बीउ वितरण गरिएको समितिले जनाएको छ । बन्दाबन्दीका कारण शहर बजारसम्म पुगेर धानको बीउ खरिद गर्न समस्यामा परेका कृषक गाउँमै धानको बीउ अनुदानमा पाएपछि खुशी भएका छन् ।
बन्दाबन्दीबाट प्रभावित तनहुँ जिल्लाका कृषकलाई स्थानीय तहले पनि विभिन्न बालीका बीउ उपलब्ध गराउने भएको छ । बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भइरहेकाले सहजरुपमा बीउ नपाउने होकि भन्ने चिन्तामा रहेका कृषकलाई स्थानीय तहले विभिन्न प्रजातिका बीउ उपलब्ध गराउन लागेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई बीउ उपलब्ध गराउनका लागि तयारी शुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत कार्यक्रमबमोजिम कृषकलाई उन्नत धान तथा तरकारीको बीउ वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
“बन्दाबन्दीका कारण कृषक आफैँले खरिद गर्न चाहे पनि सहजरुपमा खरिद गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँपालिका आफँैले खरिद गरेर कृषकलाई बीउ उपलब्ध गराउनेछ ।” गाउँपालिकाले धानको सावित्री, रामधान, गोलभेँडा, काँक्रो, रामतोरिया, सिमी, बोडी, खुर्सानीलगायत बीउ उपलब्ध गराउनेछ ।
गाउँपालिकाले बीउ आवश्यक पर्ने कृषक र समूहलाई निवेदन दिन आह्वान गरेको छ । कृषक वा कृषक समूहको निवेदन, नागरिकता, दुई रोपनी जग्गा भएको प्रमाण पेश गरेपछि कृषकलाई बीउ उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकाले पनि कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्न लागेको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले कृषकको मागबमोजिम सावित्री, रामधान वा मकवानपुर जातका धानका बीउ उपलब्ध गराउन लागिएको बताउनुभयो ।
