चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे एक सिंगे गैंडाका माउ–बच्चा
चितवन, ६ माघ : तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् ।
वडा नम्बर २ मा पर्ने नदीको बगरमा अन्दाजी १४ वर्षकी पोथी गैंडा र ४ वर्षको केटो(गैंडाको बच्चा)मृत अवस्थामा भेटिएका हुन् ।
यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सिकारीको आक्रमणबाट गैंडाका माउ-बच्चाको मृत्यु भएको आशंका गरिएको बताए ।
‘मृत गैंडाको प्रकृति हेर्दा हिजै मरेकोजस्तो देखिन्छ । माउको खाग काटिएको छ, बच्चाको सुरक्षित छ,’ तिवारीले भने, ‘हामीले आजमात्रै जानकारी पायौं । दिउँसो साढे १२ बजेतिर जानकारी पाएपछि हाम्रो टोली पुगेर अनुसन्धान सुरू गरेका छौं ।’
उनले विद्युतीय धराप थापेर मारिएको आशंका गरे ।
स्थानीयबासीले मृत गैंडा देखेपछि चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नेपाली सेनालाई खबर गरेका थिए ।
नवलपुरको अमलटारी क्षेत्रमा यसअघि पनि गैंडाका माउ, बच्चालाई सिकारीले निसाना बनाउने गरेका थिए ।
चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन् । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।