अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारको निर्णयअनुसार तीन देशका लागि हवाइ उडान खुला भएको छ ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो । यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुनेछ ।
जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन् ।
राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौं– दोहा–कतार–काठमाडौं उडान भर्ने छ ।
यस्तै, हरेक हप्ताको बुधबार काठमाडौं–दिल्ली – काठमाडौं उडान भर्नेछ । यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौं– इस्तानबुल उडान भर्नेछ ।
कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा–काठमाडौं–दोहा उडान भर्नछ । एयर इन्डियाले हरेक हप्ताको शुक्रबार दिल्ली–काठमाडौं–दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिए पछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो ।

