एमाले र जसपा फुटाउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : ढकाल

काठमाडौं, १७ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाए ।

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने पनि बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनको तर्क थियो ।

‘धारा ७६(५)को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणाली भित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’ उनले भने ।

मन्त्री ढकालले अब ताजा जनादेशमा जानुको विकल्प नभएको बताए ।  सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.