चिकित्सकको सुरक्षाका लागि अध्यादेश ल्याउन माग

काठमाडौं, १६ जेठ : नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि एक हप्ताभित्र अध्यादेश ल्याउन नेपाल सरकारसँग माग गरेको छ ।

अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका थप कार्यक्रम घोषणा गर्ने संघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानुन ल्याउन आवश्यक रहेको जनाएको छ ।

‘भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न र आजको मितिबाट सात दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेशमार्फत कानुन ल्याएर सुरक्षित वातावरणको सिर्जना गर्न माग नेपाल चिकित्सक संघ माग गर्दछ,’संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ यस्तो परिस्थिति नबनेमा नेपाल चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुने समेत जानकारी गराउन चाहन्छौं ।’

जेठ १३ गते भेरी अस्पताल तथा त्यसअघि विराट मेडिकल कलेज अस्पतालमा भएको घटनाले सिंगो चिकित्सा क्षेत्र असुरक्षित बन्दै गएको संघले निष्कर्ष निकालेको छ । भेरी अञ्चल अस्पतालमा बिरामीकाे मृत्यु भएपछि आफन्तले चिकित्सक र नर्समाथि हातपात गरेका थिए । हातपात गर्नेमाथि मुद्दा चलेकाे छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.