एमालेले सोध्यो बागमती प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण
हेटौंडा, ८ जेठ : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।
शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए ।
उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, ईन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिएका १४ जनामध्ये ३ जना बोर्डको सदस्यसमेत रहेका छन् । बोर्डको सदस्य रहे पनि राजेन्द्रप्रसाद पाण्डे र अरुण नेपाल अस्वस्थ रहेको भन्दै बैठकमा सहभागी नभएको निरौलाले बताए । अष्टलक्ष्मी शाक्यले भने कुनै जानकारी नदिएको उनको भनाइ छ ।
निरौलाले पार्टीको निर्णय नमान्ने र पार्टीको अहित हुने काम गर्नेलाई स्पष्टीकरण सोधेको बताए । उनले आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण नदिए पार्टीको विधानअनुसार कारबाही गरिने बताए । गत ६ गतेको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेद्ववार रामबहादुर थापा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए ।
शनिबार बसेको बैठकले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तैगरि, वर्तमान सरकारले कोरोना न्यूनीकरणको लागि गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
