जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले माग्यो विवरण
काठमाडौं, ७ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउनको लागि अस्पतालमा कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको विवरण उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ ।
मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णयअनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो ।
कोरोनाको महामारीमा पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थित गर्ने र प्रमाणित अभिलेखका आधारमा भत्ता उपलब्ध गराइने मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्युटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न भनेको छ ।
अघिल्लो वर्ष अर्थात् कोरोनाको पहिलो वेभमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १००, ७५ र ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष बिरामीको उपचारबापत पाएको रकम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मीलाई दिने निर्णय थियो । तर, अधिकांश अस्पतालले रकम उपलब्ध नगराएपछि यसपटक सरकारले सम्बन्धित कर्मचारीको खातामा तलबसँगै जोडेर ५० प्रतिशत भत्ता पठाउने भएको हो ।
स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको कात्तिकदेखि जोखिम भत्ता वितरण गरिएको छैन । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थासँग कोभिडमा काम गर्ने स्वास्थ्यकर्मीहरूको सूची माग गरेको छ । सोही सूचीका आधारमा सिधै खातामा रकम पठाइनेछ । यसपटक केस बेसको शोध भर्नाबाहेक कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ता दिन लागिएको हो ।

