सिसिएमसी खारेज गर्न माओवादी केन्द्रको माग

काठमाडौं, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ ।

बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो ।

विपतसम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सिसिएमसी गठन गरिएको र सिसिएमसीमार्फत अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताए ।

उनले भने, ‘सिसिएमसी खारेज गर्नुपर्छ । विपतसम्बन्धी घटनाहरु हेर्नका लागि गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ ।‘ उनले भने, ‘छुट्टै सिसिएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत् अनियमितता, भ्रष्टाचार, सामाग्री दुरुपयोगका कुरा आउने भइरहेको र त्यसले सही ढंगले काम गरिरहेको छैन त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ ।’

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ । नेता पुनले भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिति बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाजलगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सरकारकै प्रयत्नले यो सम्भव छैन ।’

बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा नीजि अस्पतालहरुको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटरलगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिइएको छ ।

माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिए । ५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी भोलि पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताए ।

भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.