लमजुङमा फेरि ५.३ म्याग्निच्यूडको भूकम्प
काठमाडौं, ५ जेठ : लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्षति पुगेका विवरण आएका छन् ।
यसअघि बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।
लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।

लमजुङमा आज विहान गएको भूकम्पमा चारजना घाइते भएका छन् । घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।
“घाइते चारै जनाको उपचार भइरहेको छ । अन्य के–कति घाइते हुनुभयो हामी बुझिरहेका छौं । म स्वयं फिल्डमा छु,” प्रजिअ लुइँटेलले भने, “करिब १० वटा घरमा क्षति पुगेको छ । बाँकी विवरण आउँने क्रम जारी छ ।”
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।
