स्वास्थ्य मन्त्रालयले भन्यो- अझै केही हप्ता चुनौतीपूर्ण
काठमाडौं, ३ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही हप्ता नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ ।
सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेको छ ।
विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको मन्त्रालयले जनाएको छ । संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालय एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ ।
अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरू पूरा खटिँदा पनि जति संक्रमण घट्नुपर्ने हो त्यति नघटेको भन्दै थप सतर्क रहन मन्त्रालयको सुझाव छ ।
गएको २४ घण्टामा मात्र ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृत्यु भएको छ ।

