बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय

काठमाडौं, ३ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने निर्णय गरेको छ । बादललाई नै मतदान गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
केही समयअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष कमल थापालाई फोन गरी मत मागेका थिए । एमालेले हिजो राप्रपालाई पत्रसमेत पठाएको थियो ।
यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुईजना प्रतिनिधि मतदाता रहेका छन् ।
राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।
उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए ।
