उपत्यकामा २६०९ सहित थप ७३६८ जनामा कोरोना संक्रमण, ६६४८ संक्रमणमुक्त

काठमाडौं, २ जेठ : पछिल्लो २४ घन्टामा थप सात हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
देशभर १३१३ जना आइसियूमा रहेका छन् भने त्यसमध्ये ३८० जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
