काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं, १ जेठ : नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।

काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

यस्तै, काठमाडौंलाई च्याम्पियन बनाउन फाइनलमा निर्णायक गोल गरेका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । उनले यो लिगमा ९ खेल खेल्दै सर्वाधिक ८ गोल गरे ।

यस्तै, फाइनलमा पराजित भएपनि धनगढीका कप्तान तथा आइकोनिक प्लेअर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भए ।

च्याम्पियन काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चयन भए । यसैगरी काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर घोषित भए । उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले १-१ लाख प्राप्त गरे भने विश्वासले ५० हजार पाए ।

यस्तै चौथो बनेको बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड पायो ।

उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.