उपत्यकामा २९३७ सहित थप ८१६७ जनामा कोरोना संक्रमण, ५४५५ संक्रमणमुक्त

काठमाडौं, १ जेठ : पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन् । यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ४५५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेका छन् । जसमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
