प्रधानमन्त्री ओलीले लिए शपथ, मन्त्रिपरिषदमा पुरानै मन्त्री दोहोरिए

काठमाडौं, ३१ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयमा कसैकाे दाबी नपरेपछि ठूलाे दलकाे संसदीय दलकाे नेताका हैसियतमा प्रधानमन्त्री बनेका हुन् ।

यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन् ।

विसं २०७४ को आम निर्वाचनमा वाम गठबन्धन बनाई बहुमतसहित विजयी भएपछि एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिमा २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि उनी विसं २०७२ असोज २४ मा प्रधानमन्त्री भएका थिए ।

विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री ओली निरंकुश पञ्चायतविरोधी झापा विद्रोहका नेतामध्ये एक हुन् ।

यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन् । यस्तै प्रधानमन्त्री ‍ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन् ।

प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन् । सपथ लिने मन्त्रीहरुमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन् ।

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो छन् । ​राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.