रियल मड्रिडको सहज जित, उपाधि होड कायमै
काठमाडौं, ३१ बैशाख : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । यस जितपछि रियलले उपाधि होड कायमै राखेको छ ।
बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे ।
ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।
७१ औं मिनेटमा जोर्गेले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए ।
७५ औं मिनेटमा अल्भारोले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
यस जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले उपाधि होड जिवितै राखेको छ ।
जितपछि ३६ खेलबाट ३८ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट एट्लेटिकोको ७० अंक छ ।७६ अक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । ग्रानडा ४५ अंकसहित दशौँ स्थानमा छ ।
ला लिगामा अब एट्लेटिकोले बाँकी दुई खेल जितेमा स्वतः च्याम्पियन बन्नेछ । तर एट्लेटिकोले बराबरी खेले वा पराजित भएमा रियलको सम्भावना हुनेछ ।
एट्लेटिकोले अब ओसासुना र रियल भाल्लाडोलिडसँग खेल्न बाँकी भने रियलले एथ्लेटिक विल्वाओ र भियारियालसँग खेल्न बाँकी छ ।
