ओलीसँगको वार्तापछि नेपालले भने : राजीनामा तत्काललाई टर्यो
काठमाडौं, ३० बैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए ।
बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो । छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका छन् ।
उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’ ‘मिल्ने दिशामा अघि बढिएको छ, अब कार्यदल बनाएर छलफल हुन्छ’, नेता नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्यो ।
नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।
जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए ।
उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ ।
