कोरोना संक्रमणबाट एमालेका प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु
काठमाडौं, २९ बैशाख : बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो । तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो ।
नेता चौलागाईं दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
युवा संघका पूर्व अध्यक्ष चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चल इन्चार्जसमेत थिए ।
पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।
