राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न आहृवान
काठमाडौं, २७ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।
राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाए । ओलीले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो ।
राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्ति अनुसार ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ ।
आइतबार संसदमा भएको विश्वासको मतको पक्षमा ९४, विपक्षमा १२४ र १५ जना सांसद तटस्थ बसेका थिए ।
त्यस लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए ।

