ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, नमाने सामूहिक राजीनामा
काठमाडौं, २७ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।
सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
बैठक लगत्तै वरिष्ठ नेता नेपालले २३ फागुनयता भएका कमजोरी औंल्याउँदै अध्यक्ष ओलीलाई पत्र नै पठाएका छन् र पार्टी एकता कायमै राख्न नेपालले आग्रह गरेका छन् ।
पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ । ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन् ।
विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ । आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपीलप्रति नेता नेपालले आपत्ति जनाएका छन् । ‘तपाइँले आफ्नाे पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ’, वक्तव्यमा उल्लेख छ ।
पत्रमा उल्लिखित ६ सर्त :
- १) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
- २) नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने ।
- ३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने ।
- ४) पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
- ५) सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
- ६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।
‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,’ उनले भनेका छन्, ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ।’
