भारतसँग जोडिएको सर्लाहीका सबै सीमा नाका बन्द
सर्लाही, २४ बैशाख : छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो । सरकारले सर्लाहीका सबै नाका बन्द गर्ने निर्णय गरेकाले सोही अनुसार नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
हिजोबाट भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । सरकारले प्रदेश २ को महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको छ ।
बीचमा केही हप्ता मलंगवा नाकाबाट आवतजावत गर्न दिइएको भएपनि अहिले त्यो नाका पूर्ण रुपमा बन्द गरिएको छ । सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।
त्यसले गर्दा पनि सीमाबाट हुने आवतजावत नियन्त्रण गर्न सजिलो भएको छ । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएको छ ।
दुई देशको सीमा छुट्याउने दशगजामै जोडिएका वस्तीका बासिन्दा प्र्रहरीको आँखा छलि लुकिछिपि नेपाल–भारत आवतजावत गरिरहेका छन् । मलंगवा नगरपालिकाका मेयर निरसल साहले सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले समस्या रहेको बताए ।
भारतीय सीमावर्ती बजार नेपालीलाई नै लक्षित गरी सञ्चालनमा रहेका मेयर साहले बताए । उनले बीचमा केही हप्ता विवाहका कारण सीमा क्षेत्रमा आवतजावत बढेको भएपनि अहिले भने धेरै हदसम्म नियन्त्रण भइसकेको जानकारी दिए ।
