उपत्यकामा ३८९३ सहित थप ७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं, २१ बैशाख : पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ । भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।
मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको मन्त्रालयले जनाएको छ ।
