गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं, २० बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

सरकारको सिफारिसमा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठी र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन् । उनीहरूलाई  नेकपाकालीन समयमा प्रदेश प्रमुख नियुक्त गरिएको थियो । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।

यसैगरी सरकारले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई नियुक्तिको सिफारिस गरेको हो ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् ।

उनी महिला आन्दोलनमा लागेकी व्यक्तित्व भएकाले नियुक्तिका लागि सिफारिस गरिएको बालुवाटार स्रोतले जानकारी दियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.