लुम्बिनी घटना लज्जास्पद र घोर अलोकतान्त्रिक : नेपाली कांग्रेस
काठमाडौं, १९ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको घटनाक्रमलाई घोर अलोकतान्त्रिक भएको जनाएको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याईं अलोकतान्त्रिक भएको जनाएका छन् । देउवाले उक्त अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्नासमेत गरेका छन् ।
‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसँगत छैन ।’
विज्ञप्तिमा भनिएको छ,‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।’

