प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं, १९ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन् ।  वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने आज बसेको मन्त्रिपरिषद बैठकमा उनले यसबारे जानकारी गराएका नेकपा एमालेका एक नेताले बनाए ।  

ती नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चल्दै गर्दा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका थिए ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन नसकेका कारण माओवादीले तत्काल सरकारलाई दिएको समर्थन लिने छाँटकाँट देखाएको छैन ।

यता जनता समाजवादी पार्टी(जसपा) भित्र पनि सरकारमा जाने/नजाने विषयले पार्टी विभाजनकै दिशातर्फ धकेलिएको छ । जसका कारण पनि ओलीतिर दलहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याएको थियो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् ।

यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन् ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.