माधव नेपाल पक्षले जोगाइदिए कर्णालीका मुख्यमन्त्री शाहीको पद
काठमाडौं, ३ बैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।
३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।
शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो ।
प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।
प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका ९ मध्ये चार सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । फ्लोर क्रस गर्नेमा नेकपा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । यी मध्ये यसअघि शाही नेतृत्वको सरकारमा ज्वाला र बुढा मन्त्री रहेका थिए ।
