प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका लिंगो भाँचियो

डोल्पा जिल्लामा अवस्थित भक्तजनको मनै लोभ्याउने वाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिरमा दर्शनगर्न आउने भक्तजन र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु यो ठाउँ र मन्दिर देखेर आकर्षित हुने गरेका छन ।

डोल्पा, २७ चैत : नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक त्रिपुरासुन्दरी मन्दिरमा ठड्याइएका काठका लिंगो दुईपटक भाँचिएका छन् । त्रिपुरासुन्दरी देवीका प्रतिमाको रुपमा रहेका लिंगो हावाहुरीका कारण गत मंगलबार राति र बिहीबार गरी दुईपटक भाँचिएका हु न्।

मन्दिरमा रहेका भगवती, कालिका,विक्रम शाही महाराज र चण्डिकाका लिंगोमध्ये भगवतीको लिंगो भाँचिएको हो । लिंगो भाँचिएसँगै तत्कालै त्रिपुराकोटका स्थानीयले नयाँ लिंगो ठड्याएका छन् ।

लिंगो भाँचिँदा देशमा अनिष्ट हुने पुजारीहरुको बताउँछन् । योभन्दा अगाडि दुईपटक लिंगो भाँचिँदा देशमा अनिष्ट भएको पुजारी देवीकृष्ण उपाध्यायले बताउँछन् ।

२०५७ सालमा भगवती हराएको केही दिनमा लिंगा भाँचिएको र त्यसको एक वर्षपछि दरबार हत्याकाण्ड भएको उपाध्याएले बताए। उनले भने‚ ‘त्योभन्दा अघि पनि एकपटक भाँचियो, त्यतिखेर पञ्चायत ढलेर बहुदल आयो, योपटक एकदिनको अन्तरको दुईपटक लिंगो भाँचियो, यसले राज्यमा ठूलो अनिष्ट हुने संकेत देखाउँछ ।’

अहिलेसम्म चारपटक भाँचिएको उपाध्यायले बताए । आस्थाको धरोहरका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा यस्तो घटना भएपछि स्थानीयहरु चिन्तित छन् ।

लिंगो ढलेपछि नित्य पूजाआजा समेत रोकिने भएकाले जताबाट भए पनि लिंगो जुटाएर हाल्नुपर्ने पुजारीहरु बताउँछन् । एउटै लिंगो २६ मिटर लामोसम्म ठड्याउने गरिएको छ । एक वर्ष विजय दशैं र चैत्र अष्टमी गरेर दुईपटक अनिवार्य नयाँ लिंगो फर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.