काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी

काठमाडौं, १५ चैत : वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ ।  मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा पुग्ने भएको हो ।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ ।

आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए ।
आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेकाको उनले बताए ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेने तयारी रहेको प्रजापतिको भनाइ छ । चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुनेछ ।

मेलम्चीको पानी पहिलो दिनदेखि नै पिउन योग्य गरि धाराधारामा पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार  मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो । मेलम्चीको पानी आएपछि शिवरात्रिको लागि बागमतीमा पठाइएको थियो । त्यसपछि सुरुङ सफा गर्न उपयोग गरिएको आयोजनाको भनाइ छ ।

सुन्दरीजलमा पानी वितरणका लागि १० ओटा पोखरी निर्माण गरिएको छ । जसमध्ये नौ ओटा तयारी अवस्थामा छन् ।  विस्तारै सबैगरी १० ओटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी संकलन हुने केयूकेएलले जनाएको छ ।

पानी दैनिक २ घण्टाको दरले उपत्यकामा वितरण हुने केयूकेएलले जनाएको छ ।  मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.