ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय
काठमाडौं, ६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीबार बालुवाटारमा संसदीय दलको बैठक राखेर ओली दलभित्रको आफ्नो कानुनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन् ।
बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताए । ‘२४ जनाको नाम बैठकमा प्रस्तुत भइसक्यो,’ उनले भने । खनाल–नेपाल पक्षका सांसद अनुपस्थित रहेको बैठकबाट ओलीले संसदीय बोर्डमा वरिष्ठ नेताहरु खनाल र नेपालको नाम पनि राखेका छन् । संसदीय दलका विधानअनुसार बोर्ड गठन गरिएको सांसद तामाङले बताए ।
