वामदेवको राष्ट्रिय एकता अभियान बैठक आज
काठमाडौं, ३ चैत : नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकता अभियानको बैठक बोलाएका छन् ।
उनले मंगलबार (आज) ११ बजे बैठक बोलाएका हुन् । एकता अभियानका सचिव तथा एमालेका युवा नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा बोलाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बसेको बैठकले नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । सोही बैठकले उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको छ ।
उनले अध्यक्ष ओलीले सबैलाई समेटेर जानुपर्ने बेलामा विधान विपरित गतिविधि गरिरहेकाले एकताका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न अभियानको बैठक बोलाइएको हो ।
नेकपाको एकता भंग हुनुअघि एकता अभियान चलाइरहेका गौतमले सर्वोच्च अदालतले एकता भंग गरेपछि पनि एमाले भित्रको एकता गराउने भन्दै लागि परेका छन् ।
