एमालेमा प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर

काठमाडौँ, २८ फागुन : नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।

नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाग्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ का इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशका इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशका इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।

यस्तै लुम्बिनीका इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशका इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिमका इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावल रहनुभएको छ ।

यस्तै वाग्मती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी थिएनन् ।

यसअघि एमालेको नवौँ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको थियो । यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएको थिए ।

निर्णय वैधानिक नभएको नेपाल समुहको निष्कर्ष 

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ ।

एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाउनुभयो ।

सो समूहको बैठकपछि नेता रावलले भन्नुभयो, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेपछि नेपाल समुहको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.