सत्ता सहकार्य गरे जसपाको माग पुरा गर्न प्रम ओली तयार
काठमाडौं, २६ फागुन : सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको पहिलो बैठक सोमबार नै भएको शुक्लाले बताए । सत्ता सहकार्यका लागि नभइ आफूहरुले उठाउँदै आएको मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यदल गठन भएको उनको बताए ।
