कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै

काठमाडौं, २३ फागुन : कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदैछ ।

दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।

यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।

यसअघि पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.