विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिपरिषद्को निर्णय
काठमाडौं, २० फागुन : सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले थाहाखबरसँग भने, ‘ जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको छ ।’
त्यस्तै मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।
आजैको मन्त्रिपरिपरिषद् बैठकले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय पनि गरेको थियो । यसअघि बिहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।
