प्रधानमन्त्री ओली औद्योगिक पार्क शिलान्यास गर्न गृहजिल्ला झापा जाँदै

काठमाडौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकार बनेयता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ । प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै आलोचना पनि भइरहेको छ । तथापि, प्रधानमन्त्रीले झापालाई ग्राह्यता दिँदै आएका छन् ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.