संसद विघटन मुद्दाको बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

, ७ फागुन  : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी (एमिकस क्युरी) गीता पाठकले राय दिएपछि सकिएको हो ।

सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले संसद विघटन मुद्दामा बहस सकिएको र यो मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका छन् ।

‘बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट दिन पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशज्यूले आग्रह गर्नु भएको छ । फैसलाबारे त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा जाने र ११ गते र १२ गते जति पनि जानसक्ने भन्नुभएको हो’ पौडेलले भने ।

त्यसअघि आफ्नो राय दिदै एमिकस क्युरी वरिष्ठ अधिवक्ता पाठकले वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी थिइन् ।

संविधानको धारा अक्सिजन भएको बताउँदै संविधान बिरामी पनि नभएको र कोमामा पनि नगएको उनको तर्क छ । यसअघि प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.