प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन आज

काठमाडौं, २८  माघ : नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले आज  पनि शक्ति प्रदर्शन गर्न लागेको हो । यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो ।

हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् ।

सरकारविरुद्ध काठमाडौं बासी भित्रभित्रै आन्दोलित भइरहेको बैठकलाई ब्रिफिङ गरेका नेता खनालले बुधबार हुने सभामा उनीहरु उपस्थित हुने दाबी गरे । प्रतिनिधि सभा विघटन भएसँगै  नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओली असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रचण्ड–नेपाल समूह आन्दोलित भएको हो । यता ओली समूह निर्धारित मितिमा चुनाव हुने भन्दै तयारीमा जुटेको बताएको छ। उसले हिजो निर्वाचन आयोगमा पुगेर दुई चरणमा निर्वाचन गर्ने जिल्ला र प्रदेशको नाम पनि टुंगो लगाएको छ ।

ओली समूहले पनि यही माघ २३ नारायणहिटी दरबार अगाडि आमसभाको आयोजना गरेको थियो ।

यस्तो छ जुलुसको रुट

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड–माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छन् ।

पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।

केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।

जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।

प्रदर्शनीमार्गमा यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क-भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.