प्रचण्ड–माधव समूहको २८ गतेको सभा भृकुटीमण्डपमा, ५ ठाउँबाट जुलुस निकाल्ने

काठमाडौं, २६ माघ : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा नै सभा गर्ने भएको छ ।

प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।  नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् ।  त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन् । यो टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु समेत रहनेछन् ।

माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन् ।

नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्नेछन् ।  जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

मुल जुलुस भने सुन्धाराबाट सुरु हुनेछ । सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

यो समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गरेको छ । संसद् विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं बृहत जनप्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.