५ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता हुने
काठमाडौं, २२ माघ : प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता हुने भएको छ ।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।
संघर्ष समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने बताएका हुन् ।
आमहड्तालकाक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडौमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।
नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएको नेकपाले जनाएको छ । त्यसैगरी बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आजको आमहड्ताल समग्रमा सफल भएको पनि प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो समूहले आज आमहड्ताल घोषणा गरेको हो।
