पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएकोमा महासंघको आपत्ति
काठमाडौं, १५ माघ : पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बस्नेतले बुटवलमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको भन्दै महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
उनले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए।
यसरी धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले बताएको छ।
‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ।’
‘प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवम् यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासंघले भनेको छ।
इकागजका सम्पादक हरिबहादुर थापाले लेखेको सम्पादकीयका बारेमा बस्नेतले युवाहरूको भेलामा सार्वजनिक रुपमै टिप्पणी गरेका थिए। उनले सम्पादक थापाको नाम तोकेर बहस गर्न चुनौती दिएका थिए।
त्यस्तै, बस्नेतले आफ्नो युवासंघमा डिग्री र पिएचडी गरेका युवाहरू भएको र अवसर पाएमा हरिबहादुर थापा र सुधीर शर्माहरूलाई तर्कमा हराउन सक्ने बताएका थिए।
पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने काम गरेको भन्दै बस्नेतको अभिव्यक्तिमाथि महासंघले भर्त्सना गरेको छ । महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
