निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
काठमाडौं, १२ माघ : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।
आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’
नेकपाको अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गर्दै अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको थियो । त्यस्तै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो ।
दुवै पक्षले निर्वाचन आयोगलाई पछिल्लो राजनीतिक विवादपछि हेरफेरबारे जानकारी दिएका थिए । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विवाद उठेपछि दुवैपक्षलाई कागजात मागेको थियो । आयोगले दुवै पक्षलाई यसअघि भएका निर्णयहरु विधानसम्मत नभएको समेत सम्झाएको थियो ।
नेकपा विभाजन भए पनि आयोगले भने पुरानै नेकपालाई मान्यता दिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवरण हेरफेर गर्न नमिल्ने निर्णय गरेको बताए ।
‘उहाँहरुको विवरण हेरफेर गर्न नमिल्ने देखियो’, प्रवक्ता श्रेष्ठले भने ‘साविकको विवरण कायम रहेको जानकारी दुबै नेकपाका अध्यक्षलाई दिने निर्णय भयो ।’
