वातावरण विभागले भन्यो – बालबालिका, वृद्धवृद्धा र रोगी घर बाहिर ननिस्किनुस्

काठमाडौं, २१ पुस : वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, बिरामीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मौसम अझै खराब हुने सम्भावना रहेकाले घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ । यसबाट हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्दछ,’ विज्ञप्तिामा उल्लेख छ, ‘विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँलाई सकेसम्म घरबाहिर र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन वातावरण विभाग हार्दिह अपिल गर्दछ ।’

विभागले काठमाडौं उपत्यकाबाहेक तराईका शहरहरु नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषण उच्च रहेकाले त्यस क्षेत्रका नागरिकहरुले पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

वायु प्रदूषण मौसम भरपर्ने भएकाले यस्तै मौसम रहिरहे केही समय वायु प्रदूषण यस्तै रहिरहन वा अझै खराब पनि हुनसक्ने विभागले बताएको छ । पुस २० गतेदेखि मौसममा आएको बदलीसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पश्चिमी वायुको प्रभाव रहने बताएको छ ।

काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।

वातावरण विभागका उपमहानिर्देशक जोशीले आमनागरिकलाई अत्यावश्यक नपरी बाहिर ननिस्कन, बुढाबुढी र बालबच्चाको विशेष ख्याल गर्न, सकभर कम गाडी चलाउन अनुरोध गरिएको जानकारी दिए ।

‘सबभन्दा ठूलो कुरा त आगो बाल्नु भएन । त्यसमा पनि फोहोर जलाउँदा हावामा प्रदूषणको मात्रा ह्वात्तै बढ्छ,’ जोशीले भने,‘एक-दुई दिन यसो गरे ठिक हुन्छ कि जस्तो लागेको छ । त्यसपछि पनि यस्तै अवस्था रहे थप सतर्कता अपनाउनु पर्छ ।’

सरकारले उद्योग धन्दा बन्द गर्ने, जोर-बिजोर प्रणाली लागू गर्नेसम्मका कुरा गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.