लिभरपुल साउथह्याम्पटनसँग पराजित
काठमाडौं, २१ पुस : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो ।
सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।
ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो ।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो ।
यस हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ ।
लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।
साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।
योर्गन क्लपको टोलीले यो सिजन लिगमा ब्यहोरेको यो दोस्रो पराजय थियो । हारका बावजुद गोलअन्तरको आधारमा लिभरपुल लिगको शीर्ष स्थानमा कायम छ । तर, लिभरपुलले पछिल्ला खेलहरुबाट ९ अंक बटुल्न सक्नेमा मात्र २ अंक बटुलेको छ ।
यदी म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीले आफ्ना बाँकी खेल जिते लिभरपुललाई शीर्ष स्थानमा उछिन्न सक्नेछ । १७ खेलबाट लिभरपुलको ३३ अंक रहेको छ भने १६ खेल खेलको युनाइटेडको ३३ र १५ खेल खेलेको सिटीको २९ अंक रहेको छ ।
