प्रचण्ड-माधव समूहले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन
काठमाडौं, १८ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।
राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताए । “उनीहरुले सत्ताको बलमा गर्न सक्छौँ भन्ने सोचेका छन्,” संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने, “हामी संघर्ष र स्वतन्त्र न्यायपालिकाको बलमा गर्न सक्छौँ ।”
उनले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
यस्ता छन् दोस्रो चरणका कार्यक्रम
प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।
- पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
- पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
- २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
- २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
- ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
- १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
- २२ माघमा वडा तहमा मसाल जुलुस ।
- २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।
