एन्फाद्वारा आर्मी फुटबल क्लबलाई एएफसीको लाइसेन्स हस्तान्तरण

काठमाडौं, १५ पुस : अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई  प्रमाणपत्र हस्तान्तरण गरे । प्रधानसेनापति उपस्थित भएर एएफसीको क्लब लाइसेन्सको प्रमाणपत्र बुझेका हुन् ।

आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीले एएफसीको लाइसेन्स पाएको हो । आर्मी एएफसीको लाइसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।

गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

लाइसेन्स नहुँदा गत वर्षको लिग विजेता मच्छिन्द्र एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको छ । मच्छिन्द्रको अनुपस्थितिमा साविक उपविजेता आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.