ओलीलाई प्रचण्डको चुनौती–के–के गर्ने हो गर्नुस्, हामी छोड्नेवाला छैनौँ

काठमाडौं, १४ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक कदमविरुद्ध चुप नलाग्ने बताएका छन् ।  मंगलबार भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, “तपाईहरु के–के गर्ने हो गर्नुस् । हामी त्यसै छाड्नेवाला छैनौँ ।” उनले ओलीजस्तो ढाँटछल गर्न आफूलाई नआउनेसमेत बताए ।

पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे ।

संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।

अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् ।   उनले त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर आफूसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागेको पनि प्रस्ट पारे ।

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको उनले स्मरण गराए । उनले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.