संसद विघटनविरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन आज

काठमाडौं, १३ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ ।

गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुग्न लागेको हो ।  साथै संसद पुनस्र्थापना नहुँदा पनि आजको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।

किनभने प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ ।

आजको प्रदर्शनलाई काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् भने महामन्त्री शशांक कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मोरङको कायक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।

सभापतिबाहेक शीर्ष नेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अधिकांश केन्द्रीय सदस्य आफ्नो निर्वाचनको कार्यक्रममा सहभागी हुने छन् ।

काठमाडौँका दश निर्वाचन क्षेत्रका विभिन्न  १० ठाउँमा आज विरोध प्रदर्शन र सभा हुनेछ । अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने काठमाडौँ काँग्रेसले जनाएको छ ।

काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन –

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.